हृदयाघात भएपछि..


http://annapurnapost.com/News.aspx/story/1258

सञ्‍चारकर्मी सञ्‍जीव घिमिरेको हृदयाघातको कारणले मृत्यु भएको खबरले स्तब्ध बनायो। म स्वयम् यसको सिकार भएकोले ह्रदयाघातसम्बन्धी के कस्तो हुने मलाई प्रत्यक्ष अनुभव छ। त्यसैले ह्रदयाघात के हो? भनेर जानकारी यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु। मेरो मूल उद्देश्य भनेको हृदयाघातबारे चेतना जगाउनु हो। जहिले पनि ‘आफ्नो स्वास्थ्यको नम्बर जानौं’ भन्‍ने आग्रह पनि गर्न चाहन्छु।

हामीले आफ्नो नाम, ठेगाना, उमेर आदि थाहा भएजस्तै आफ्नो रक्तचाप, कोलेस्ट्रोल, रगतमा चिनीको मात्रा थाहा पाउनु जरुरी छ। यस अनुरूप जीवनशैली परिवर्तन गर्न सजिलो हुन्छ। स्वस्थ्यकर जीवनशैलीको न्यूनतम ज्ञान लिनु पनि आवश्यक हुन्छ। आफ्नो परिवारको इतिहासमा मुटुरोग छ भने त्यस्तो व्यक्तिले समयमा अरू सावधानी हुनुपर्छ।

हृदयाघातको लक्षण छातीको बीच भागमा एकदम दुख्ने, छातीमा साधारण असजिलो अनुभव हुन्छ। दुखाइ चाहिँ एकदम गह्रुँगो या कसिएको हुन्छ। दुखाइ पाखुरा, घाटी, गर्धन, पछाडि भाग या भुँडीमा पनि सर्न सक्छ वा घाँटी, बंगारा, पाखुरा या भुँडीमा मात्रै असर गर्न सक्छ।

हृदयाघात भइरहेको मान्छेलाई पसिना आउने, टाउको हलुंगो हुने, वान्ता आउने या सास फेर्न गाह्रो हुने पनि हुन्छ। कहिलेकाहीँ हृदयाघात ‘शान्त’ हुन्छ र यसले कम असुविधा महसुस हुन्छ। जस्तै कोही मान्छेहरूलाई छाती दुख्न यति कम हुन्छ कि डाक्टरकहाँ जाँदैनन्। अरू स्वास्थ्य परीक्षण गर्दा धेरै समयपछि थाहा हुन सक्छ अथवा नियमित स्वास्थ्य परीक्षण गर्दा मात्र हृदयाघात भएको भन्ने पत्ता लाग्छ।

कसैलाई हृदयाघात भइरहेको छ भने तुरुन्त एम्बुलेन्स या अस्पताल पुग्नुपर्छ। धेरै मान्छेहरू एम्बुलेन्स बोलाउन कुर्दा या अस्पताल जान ढिलो गरे जीवन जोखिममा पर्छ। हृदयाघात दिन, रात जुनसुकै बेलामा पनि हुन सक्छ काम गरिरहेको बेलामा या त्यसै आराम गरेको बेलामा पनि।

हृदयाघात भएपछि तपाईंको शरीरले नोक्सान भएको मुटुको मसलमा खत आउँछ। यसका लागि केही दिनदेखि महिनौंसम्म लाग्न सक्छ। दुई तीन महिनाभित्रमा हृदयाघात भएका बिरामीहरूको मुटुले हृदयाघात हुनुभन्दा पहिलेको जस्तै गरी काम गर्छ, तर कोही बिरामीहरूको मुटुको मसल यति धेरै बिग्रेको हुन सक्छ कि मुटुले पहिलाको जस्तो गरी राम्रोसँग पम्प गर्न सक्दैन। यसले सास फेर्न गाह्रो हुने थकाइ लाग्ने र गोलीगाँठा सुन्निने हुन सक्छ।

हृदयाघात एउटा डरलाग्दो अनुभव हुन सक्छ। यदि तपाईंलाई अहिलेभन्दा पहिले एकदम राम्रो स्वास्थ्य थियो भने यसले अरू भय पैदा गर्न सक्छ। अस्पतालमा हुँदामा धेरै मान्छेहरूले डराएको प्रतिक्रिया दिन्छन्। अनि मेसिनहरू र अस्पतालको नचिनिँदो वातावरणले अरू दु:ख र दर्द बढाउन सक्छ। मर्न देखि डराउनु, अथवा पहिलाको जस्तै सक्षम हुन सक्दिनँ भन्ने पीर हुन्छ, हृदयाघात भइसकेपछि।

डाक्टरले दिएका औषधिहरू खाने र स्वस्थ्यकर जीवनयापन गर्ने हो भने जोखिमलाई धेरै कम गर्न सकिन्छ। धेरै बिरामीहरू र उसका परिवारहरू हृदयरोग पुनस्र्थापन केन्द्रमा गएपछि स्वस्थ्यकर जीवनशैलीबारे धेरै कुराहरू सिक्ने मौका पाउँछन्।

हृदयाघात भएपछि व्यायाम गर्नलाई अलि नर्भस भइन्छ, तर मुटु एउटा मांसपेशी हो र शरीरका अरू मांसपेशी जस्तै मुटुलाई राम्रो अवस्थामा राख्न व्यायाम गर्नुपर्छ। डाक्टर, नर्सहरूले कस्तो किसिमको शारीरिक क्रियाकलाप तपाईंको लागि ठीक हुन्छ भनेर सल्लाह दिन्छन्।

सुरुमा कम क्रियाकलाप गर्ने र बिस्तारबिस्तारै बलियो र निर्धक्क भएपछि व्यायाम बढाउने सल्लाह दिन्छन्, डाक्टरहरू। एकजना बिरामीलाई दिइएको सुझाव अरूलाई फरक हुन सक्छ किनभने प्रत्येक बिरामी फरकफरक हुन्छन्।

अस्पतालबाट घर गएपछि व्यायाम सुचारु रूपमा राख्नु महत्त्वपूर्ण कुरा हो दिइएको सल्लाहअनुसार चल्नुपर्छ। हृदयाघातपछि अस्पतालमा रहँदा, घरमा बस्दा आफ्नो जीवनशैली परिवर्तन गरे विचार गर्ने मौका पाइन्छ। कुनै क्षेत्रमा परिवर्तन गरे हृदयाघात फेरि हुने सम्भावनालाई कम गर्न सकिन्छ। जीवनशैली परिवर्तनबारे सकारात्मक सोच बनाउनु पर्छ।

धेरै बिरामीहरूलाई हृदयाघातपछि पहिलाको भन्दा राम्रो हुन्छ। काममा फर्कने प्राय मान्छेहरू हृदयाघात भएपछि आफ्नो पुरानै काममा फर्कने गर्छन्। हलुंगो किसिमको काम भएमा हृदयाघात भएको ६ हप्तापछि काममा फर्कन सकिन्छ।

अरू मान्छेलाई आफ्नो कामको प्रकृतिमा पर पर्छ। डाक्टर या नर्ससँग योसम्बन्धी सुझाव लिनु उपयुक्त हुन्छ।

हृदयरोग लागेका मान्छेका श्रीमान् श्रीमतीमा यौनबारे प्राय: अयोल भएका हुन्छन्। हृदयाघात भइसकेपछि प्राय: मान्छेहरू पुरानै यौन क्रियाकलापमा फर्कन सक्छन्। अरू शारीरिक क्रियाकलाप जस्तै यौन क्रियाकलापले मुटुको धड्कन र रक्तचाप बढाउँछ।

यसले मुटुको कार्य बढाउँछ र कोरोनरी मुटुरोग भएको मान्छेलाई सास फेर्न गाह्रो भई छाती दुख्ने हुन सक्छ तर शारीरिक सम्पर्क अरू शारीरिक क्रियाकलाप या व्यायाम गरे जति नै सुरक्षित हुन्छ। हृदयाघात भएको मान्छेले यदि जटिलता बिना नै निको भएको छ भने हृदयाघात भएको दुई/तीन सातापछि यौन सम्पर्क गर्न सक्छन्।

हृदयरोग बढाउने तत्त्वहरू

धूमपान : कोरोनरी मुटु रोग लाग्नुका प्रमुख कारणमध्ये धूमपान एक हो, यसले हृदयाघात हुने जोखिमलाई बढाउँछ। हृदयघात भइसकेको मान्छेले धूमपान छोडे अर्को हृदयाघात भई मर्ने जोखिमलाई कम गर्छ।

आफन्तबाट सर्ने : कोरोनरी मुटुरोग परिवारमा सर्न सक्छ। आफ्नो परिवारको सदस्य जस्तो बाबु आमा, दाजु, भाइ, दिदी बाहिनी फुपू, मामा, सानीआमा, ठूलीआमालाई यस्तो रोग लागेको छ भने यसका जोखिमका तत्त्वहरूलाई निवारण गर्न के गरिएको छ, यो पनि महत्त्वपूर्ण कदम हो।

उच्च रक्तचाप : उच्च रक्तचापले हृदयाघात र स्ट्रोक हुने जोखिम बढाउँछ र यसले गर्दा मुटुका मांसपेशीलाई क्षति हुन्छ। त्यसकारण समयमा उच्च रक्तचापलाई नियन्त्रण गर्नुपर्छ।

वजन बढी हुनु : स्वस्थ्यकर वजन राख्नाले रक्तचाप कम हुने र मुटुलाई कम काम गर्ने बनाउँछ, यसले कोलेस्ट्रोल घटाउँदछ र मधुमेहको विकास हुने जोखिमलाई कम गराउँदछ। आफ्नो उचाइ अनुरूपको वजन हुनुपर्छ।

चिन्ता : चिन्ताको प्रकृति र अर्थ हरेक मानिसमा फरक हुन सक्छ। एउटा व्यक्तिलाई भएको चिन्ता अर्को व्यक्तिलाई नहुन सक्छ। केही निश्चित मात्रामा चिन्ता हुनु आवश्यक हुन्छ, यसले हाम्रो जीवनमा काम गर्न हौसला र मद्दत पुर्‍याउँछ। तब समस्या पैदा हुन्छ जव चिन्ता हाम्रो वशबाट बाहिर जान्छ।

दैनिक बोझपूर्ण क्रियाकलापले दिमागलाई शिथिल बनाई मानिस संयमबाट दूर भएको अवस्था विशेष नै चिन्ताग्रस्त परिवेश हो। चिन्ता भयो भनी धूमपान गर्नु, बोर लाग्यो भनि रक्सी पिउनु, अल्छी लाग्यो भनेर सुत्‍नु आदिले हृदयाघातको सम्भावना बढाउँछ।

व्यायामको कमी : मुटु मांसपेशी भएकोले यसलाई स्वस्थ्य राख्‍न व्यायामको जरुरी पर्छ। जो मानिस शारीरिक हिसाबमा क्रियाशील छैन उसलाई क्रियाशील भएको मान्छेभन्दा दुई गुना बढी मुटुरोग लाग्ने हुनसक्छ।

उच्च कोलेस्ट्रोल : रगतमा धेरै कोलेस्ट्रोल भएमा यसले मुटुरोग लाग्ने जोखिम बढाउँछ। कोलेस्ट्रोल बढाउने मुख्य काम चिल्लोले गर्छ। खासगरी जनावरबाट पाइने चिल्लोले अत्यधिक कोलेस्ट्रोल बढाउँछ।

अस्वस्थ्यकर खाना : फलफूल र सब्जीले मुटुलाई राम्रो गर्छ। विभिन्न किसिमका फलफूल र तरकारी दिनको घटीमा पाँच पोर्सन खानुपर्छ। तेलयुक्त माछा र ओमोगा सधैं खाएमा कोरोनरी मुटु रोगलाई कम गर्न सकिन्छ र हृदयाघात भएका मान्छेलाई बचाउन सहयोग गर्छ।

मधुमेह : मधुमेहले कोरोनरी मुटुरोग लाग्ने जोखिम प्रबल रूपले बढाउँछ। मधुमेह नभएको मानिसलाई भन्दा तपाईंलाई दुई/चार गुना बढी मुटुरोग लाग्ने सम्भावना बढ्छ।

मुटुरोगबाट बच्न अपनाउनुपर्ने उपाय :

-मुटुरोगका जोखिमका तत्त्वहरूमाथि ध्यान दियौं, कोलेस्ट्रोल, रक्तचाप, रगतमा चिनीको मात्रा, आफ्नो तौलजस्ताको आफ्नो नम्बर जानौं। यसअनुसार जीवनशैली बदलौं।

-दिनमा ६ ग्रामभन्दा कम नुन खाऔं।

-दिनमा घटीमा पाँच पोर्सन फलफूल र सब्जी खाऔं।

-व्यायाम गरौं र क्रियाशील होऔं।

-मदिरा सावधानीपूर्वक तोकिएको परिणाम मात्र पिऔं।

-जरुरी भए वजन घटाऔं।

-धूमपान त्यागौं

-चिल्लो कम खाऔं, जनावरबाट पाइने चिल्लो लाई धेरै कम गरौं।

– चिन्तालाई समयमा कम गरौं।

-यदि मुटुरोगका जोखिमका तत्त्वहरू बढ्छ भने अरू जीवनशैली र खानामा प्रयत्न गरौं र डाक्टरलाई भेटौं।

हृदयाघातका लक्षण

-छाती एकदम दुख्ने, एकदम समातिएको जस्तो हुने र एकदम गरुंगो हुन सक्छ।

-दुखाइ छाती, घाँटी, पाखुरा, गर्धन, पछाडि भुँडीमा हुनसक्छ।

-पसिना आउने, टाउको हलुंगो हुने, बान्ता आउने र श्वास लिन गाह्रो हुन सक्छ।

यी लक्षण भए के गर्ने त?

– जे काम गरिरहनु भएको छ, रोकिने।

-बस्ने र आराम गर्ने।

-यदि जीएनटी स्प्रे छ भने भनिएबमोजिम लिने। यति गर्दा १५ मिनेटभित्रमा पनि दुखाइ नरोकिएमा तुरुन्त एम्बुलेन्स बोलाउने अरू नकुर्ने। यदि स्प्रे छैन भने शान्त भएर १०/१५ मिनेट बस्ने र दुखाइ भइरहेमा तुरुन्त एम्बुलेन्स बोलाइहाल्ने।

यदि एस्प्रिनमा एलर्जी छैन भने ९३० एमजीको एस्प्रिन चपाउने। त्यो नपाइएमा एम्बुलेन्स नआउन्जेल आरामले बस्ने। हृदयाघात भएमा तपाईं दुईवटा महत्त्वपूर्ण काम गर्न सक्नुहुन्छ, एम्बुलेन्स बोलाउने र आरामसँग बस्ने।’

(“कोरोनोरी मुटुरोग”- २०१० का लेखक तथा नेप्लिज हार्ट फाउन्डेसन बेलायतका अध्यक्ष हुन्
– See more at: http://annapurnapost.com/News.aspx/story/1258#sthash.pkUwkwxm.W05MrCQw.dpuf